वालिङ । स्याङ्जामा सुन्तला बगैँचा विस्तार गरी क्षेत्रफल दुई हजार ३५० हेक्टरमा पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोनबाट सुपरजोनमा रूपान्तरण भएपछि सुन्तला खेतीको दायरा तीव्र रुपमा बढेको हो ।
परियोजना सुरु गर्दा जिल्लामा ८८७ हेक्टर क्षेत्रमा मात्रै सुन्तला खेती थियो । तर हाल यो क्षेत्र करिब तीन गुणाले बढेको छ । सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म २,२५० हेक्टरमा सुन्तला खेती थियो भने गत वर्ष मात्रै थप १०० हेक्टरमा बगैँचा विस्तार गरिएको हो ।
परियोजनाले सहकारी, कृषक समूह र कृषि फार्महरूलाई बिरुवा, सिँचाइ सामग्री, खोप, विषादीलगायत सामग्री अनुदानमा वितरण गर्दै आएको छ । हाल स्याङ्जामा २४ सहकारी, ८७ कृषक समूह र २५१ निजी तथा व्यावसायिक फार्मले सुन्तला खेती गरिरहेका छन् ।
जिल्लाका ११ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिका बाहेक सबै पालिकामा सुन्तला सुपरजोन सञ्चालनमा छ । पुतलीबजार, भीरकोट र अर्जुनचौपारीमा सबैभन्दा बढी सुन्तला खेती विस्तार भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमा आएको बगैँचाको ६० प्रतिशत बोटबाट रु १ अर्ब १२ करोड बराबरको सुन्तला बिक्री भएको हो । बाँकी ४० प्रतिशत क्षेत्रमा लगाइएका बिरुवा उत्पादनमा आउन बाँकी रहेको हुँदा आगामी वर्षहरूमा आम्दानी अझ बढ्ने अनुमान गरिएको छ ।
दश वर्षका लागि लागू गरिएको सुपरजोन परियोजना यो वर्ष अन्तिम वर्षमा प्रवेश गरेको हो ।










