समय : १०:३५ pm | शनिबार , वैशाख १२ गते २०८३

फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख

अर्थ विशेष | वैशाख २४ गते २०८२

‘काठमाडौँ। रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानको दिशामा अघि बढेको बताएका छन्।

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले रणनीतिक महत्वको सो आयोजना निर्धारित समयमा सम्पन्न गर्न सरकारले प्रयास गरिरहेको बताए।

“द्रूतमार्गअन्तर्गत खोकना क्षेत्रमा मुख्य समस्या विद्यमान छ, तर त्यो खोकना क्षेत्रभित्र पनि क्रमशः प्रगति हुन थालेको छ”, काठमाडौँतर्फको प्रस्थान विन्दुमा देखिएको समस्या समाधानको प्रयासबारे जानकारी दिँदै मन्त्री राईले भने, “काठमाडौँ उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेका छन्। यस आधारमा द्रूतमार्गमा क्रमशः प्रगति हुँदै आएको छ।”

द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका जग्गाको मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले त्यससम्बन्धी निर्णय लगत्तै उपत्यका बाहिर द्रूतमार्गको जग्गामा कुनै समस्या नरहने स्पष्ट पारे।

मन्त्रालयका अनुसार द्रूतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, सुरु विन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेस गरिएको छ।

सेनाको जिम्मेवारीमा रहेको खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खनिसकिएको जानकारी दिँदै मन्त्री राईले चिनियाँ सहयोगमा उक्त सडक स्तरोन्नति हुने बताए। दार्चुला–टिङ्कर खण्डअन्तर्गत छान्ग्रुमा हेलिकोप्टरमार्फत ‘स्काइभेटर’ पु¥याएर दार्चुला सदरमुकाम र चीनको सीमा क्षेत्रसम्म पुग्ने सडकको ट्रयाक खन्न सुरु हुने उनको भनाइ छ।

विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदानको विश्वभरबाट प्रशंसा भइरहेको उल्लेख गर्दै उनले विपद्मा उद्धार र राहतसँगै विकास निर्माणमा सेना सक्रिय रहेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले रक्षा मन्त्रालयअन्तर्गतका आयोजनामा देखिएका समस्यालाई सरलीकृत गरेर अघि बढाउनुपर्नेमा जोड दिँदै समस्यालाई थप जटिल हुन नदिने गरी काम गर्न आग्रह गरे। मन्त्रालयसँग सहकार्य गर्न आयोग सदैव तत्पर रहेको उल्लेख गर्दै उनले भने, “सँगसँगै जाऔँ, काम गरौँ, केही समस्या छन् भने समाधानका लागि आयोग तयार छ।”

प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो समय द्रूतमार्ग निर्माणले गति लिएको र प्रगति सन्तोषजनक रहेको जानकारी दिए। “केही प्याकेज कालोपत्र गर्ने चरणमा पुगेका छन् भने केही प्याकेजमा पुल वारपार गर्न सकिने अवस्थामा पुग्दैछन्”, उनले भने।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, विभिन्न मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधि तथा नेपाली सेनाअन्तर्गत विभिन्न विकास आयोजना र विभागीय प्रमुखहरूको सहभागिता थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्