समय : ०६:२७ pm | आइतबार , वैशाख १४ गते २०८२

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ – सांसद सिटौला

अर्थ विशेष | वैशाख १४ गते २०८२

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म र भावनाबमोजिम आउनुपर्नेमा जोड दिएका छन् ।

बैठकको विशेष समयमा दलीय आधारमा उनले आगामी आवको बजेटमार्फत जनताका पक्षमा काम गर्न सक्छौँ भन्ने देखाउन सक्नुपर्ने धारणा राखे ।उनले भने, “प्रधानमन्त्री र अर्थमन्त्रीलाई विशेष आग्रह छ, अब पुरानै ढाँचाको बजेट नल्याउनुहोस्, बजेटमार्फत उत्पादन वृद्धि हुनुपर्‍यो, कृषकले खेतीयोग्य जमिन बाँझो राख्न नपर्ने खालको बजेट ल्याउन जरुरी छ ।” वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका युवालाई देशभित्रै रोजगारी दिन सक्नेगरी बजेट बनाउनुपर्ने उनले बताए ।
“हामी २०७२ सालको संविधानसँगै नयाँ राजनीतिक यात्रामा प्रवेश गरेका हौँ । आन्दोलनपछि गणतन्त्रको घोषणासँगै लामो समय लगाएर संविधान जारी गरेका थियौँ । संविधान सबैको साझा दस्तावेज हो, तर हाम्रो मानसिकता सङ्घीताबमोजिम भएको छैन”, सांसद सिटौलाले भने । संविधान नयाँ भए पनि हाम्रो काम गर्ने शैली पुरानै रहेको उनको भनाइ छ । उनले एकले अर्कालाई आरोप लगाउनेभन्दा पनि सबै मिलेर यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने उनले बताए ।

“लामो समयदेखि शिक्षकहरू सडकमा प्रदर्शनरत छन् । मैले संविधान जारी भएदेखि शिक्षा विधेयकका बारेमा छलफल गर्नुपर्ने भन्दै आएको हुँ, तर अहिलेसम्म पनि ऐन बनाउन सकेका छैनौँ”, सांसद सिटौलाले भने । युवा पलायन रोक्न मुलुकको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै रोजगारीका निम्ति देशभित्रै कलकारखाना र उद्योग सञ्चालन गर्नेगरी बजेट ल्याउनुपर्नेमा उनले जोड दिए ।

संविधानले दिएका मौलिक अधिकार मात्रै कार्यान्वयन गराउन सकेको खण्डमा जनताका न्यूनतम अधिकार कार्यान्वयन हुने सांसद सिटौलाले उल्लेख गरे । उनले लोकतन्त्रमा सबैलाई आफ्ना माग राख्ने अधिकार भएको उल्लेख गर्दै देश विकासका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्