बाँके । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ ।धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो ।
उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई बीउ पुग्ने गरी तयार गरिएको हो । डुडुवाले आफ्नै किसानसँग पाँच लाख ६८ हजार बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन गरेको उनले बताए ।
धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताए ।
उनका अनुसार किसानलाई बीउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरिने छ ।
डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ ।
पहिलो पटक धानको बीउ उत्पादन गरेको पालिकाले यस वर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ ।
दुई सय ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए ।
उनका अनुसार अहिले गहुँ भित्र्याउने समय रहेकाले अब केही दिनभित्रै गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने छ ।
किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ ।
डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको उनले उल्लेख गरे ।
अध्यक्ष चौधरीले भने, ‘बीउ उत्पादन तथा भण्डारणपछि यहाँका कोही पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्नेछ ।’
उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।