काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५८ प्रतिशत अर्थात ४१.४३ अंकले बढेर २ हजार ६६३.३० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले बढेर ४४६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यससँगै नेप्सेमा लगातार दुईदिन वृद्धि देखिएको छ । यो दुई दिनमा नेप्से परिसूचकमा ८० अंकको सुधार आएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, केही दिनदेखि राजनीतिक कारणले घटेको बजार दुई दिनयता सम्हालिदै गएको देखिन्छ । अहिले नयाँ गभर्नरका लागि चर्चामा रहेका व्यक्तिहरुप्रति लगानीकर्ता आशावादी बन्दा बजारमा सुधार आएको छ ।’
घटेको समयमा पैसा हुनेले अवसर छोपेकाले सूचकसँगै कारोबार पनि बिस्तारै बढ्दै गएकाले उनले बताए ।
अर्का बजार जानकार यज्ञ घिमिरेले बजारमा चैत मसान्तको दबाब कम हुँदै गएको, राजनीतिक विषयको प्रभाव कम हुँदै गएको र नयाँ आउने गभर्नरप्रतिको आशाका कारण बजार बढेको बताए । ‘प्राविधिक रुपमा पनि बजारले २५८० बाट सपोर्ट लिएर फर्केका कारण पनि लगानीकर्ताको मनोबलमा सुधार आएको छ।’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक अर्थात ५.०५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.९९ प्रतिशत,विकास बैंक १.१८, फाइनान्स १.४५, होटल ०.६५, हाईड्रोपावर १.२१, लगानी २.१६,जीवन बीमा १.७९,उत्पादन तथा प्रशोधन १.०१,लघुवित्त २.२८,म्युचुअल फण्ड ०.४१,निर्जीवन बीमा ०.९५ र अन्य समूह १.६८ प्रतिशतले बढ्यो ।










