समय : ०५:१५ pm | बुधबार , असार ३१ गते २०८३

अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनियर विरुद्ध मुद्दा दायर

अर्थ विशेष | पौष २९ गते २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेशगरेदेखिको आर्जनको हिसाब–किताब गरेको जनाएको छ । इञ्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका थिए । आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो ।वैधानिक रुपमा श्रेष्ठले रु ११ करोड २५ लाख ६५ हजार एक सय ९९ बराबरको आर्जन गरेको पाइएको छ । यस्तै, १६ करोड १३ लाख ९५ हजार पाँच सय २८ रुपैयाँ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ । चार करोड ८८ लाख ३० हजार तीन सय २९ रुपैयाँ बराबरको रकमको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ । सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ ।गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ, छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको पाइएकाले सबैलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले श्रेष्ठ र उहाँको परिवार विरुद्ध चार करोड ८८ लाख ३० हजार तीन सय २९ रुपैयाँ बराबरको बिगो कायम गर्दै गैरकानुनीरुपमा आर्जन गरेको सम्पति जफत एवम् असूल उपर गर्नुपर्ने मागदावी गर्दै मुद्दा दायर गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्