चितवन । भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकाेत्सवकाे अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यही पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघाैलीमा खाना महोत्सव गर्न लागिएको हो ।मेघाैलीकाे जानकी माध्यमिक विद्यालय मेघाैलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिए । उनका अनुसार रु ६१ लाखको अनुमानित खर्चमा लाग्नेछ । स्थानीय थारु, कुमाल, दराई, मगर, गुरुङ, वाेटे, मुसहर समुदाय सहितका स्थानीय जातका खाना महोत्सवमा राखिने चौधरीको भनाई छ । स्थानीय समुदायको जीवन स्तरमामा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताए । महोत्सवमा १ लाख भन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्य भन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताइन् । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धिमा महत्त्वपूर्ण भूमिका पुगेको उनले बताइन् । महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनौतीहरू देखिए पनि अपेक्षा अनुसार काम भएको जिकिर गरिन् । राजनैतिक अस्थिरता, स्थानीय पालिकाबाट पहिलाेपटक आयोजना गरिएको हुँदा सिको गर्ने ठाउँ नहुनु, भौतिक निर्माणमा तदारुकताका साथ काम हुन नसक्नु मुख्य समस्याको रूपमा रहेको उनको भनाई थियो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकास सँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको र सो उद्देश्य प्राप्तिमा सफल भएको बताए । यस महोत्सव स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षणको रूपमा रहने उनले जानकारी दिए ।










