काठमाडौँ । नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।काठमाडौँ । नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।
यसैगरी सङ्घीय शसर्त अनुदानअन्तर्गत १६ योजना पुनःस्थापना गर्न रु ९८ लाख बजेट विनियोजन भएको छ। योसहित चालु आर्थिक वर्षमा रु १३ करोड ९७ लाख बजेट प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । कार्यालयका अनुसार योजनाको लागतअनुसार बजेट विनियोजन नहुँदा यस वर्ष अधिकांश योजना पूर्ण रूपमा सम्पन्न नहुने भएका छन् । बजेट अद्यावधिक गरी केही थप भएमा निर्माणाधीन अवस्थामा रहेका १२ योजना चालु आवमा सम्पन्न हुने कार्यालय प्रमुख पौडेलले बताए ।
गत आवभन्दा रु छ करोड बजेट घटेर आएकाले पनि सबै योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने उनको भनाइ छ। ‘योजना बढी छन्, बजेट सीमित छ । त्यसैले अन्तिम चरणमा रहेका योजनालाई पूर्णता दिनेगरी काम गरिरहेका छौं’, कार्यालय प्रमुख पौडेलले भने । प्रत्येक योजनामा न्यूनतम रु पाँच लाखदेखि बढीमा रु ६४ लाखसम्म बजेट विनियोजन भएको छ ।
जिल्लाका सबै परिवारमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनाअनुसार चालु आवमा बजेट विनियोजन भएका सबै योजना कार्यान्वयनमा गइसकेका कार्यालयले जानकारी दिएको छ । पर्वतमा अन्य संस्थागत बाहेक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हालसम्म १६ हजारभन्दा बढी परिवारमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ । चालु आवमा सञ्चालित योजनाहरूले पूर्णता पाएमा दुई हजारभन्दा बढी घरमा ‘एक घर एक धारा’ विस्तार गर्न सकिने कार्यालयले जनाएको छ ।
जिल्लाको सदरमुकाम कुश्माबजार, फलेबास, वारीबेनी, पातीचौर, डिमुवा, कार्किनेटा, हुवास, त्रिवेणीलगायत बजार क्षेत्रमा व्यवस्थित रूपमा खानेपानीको वितरण भए पनि केही ग्रामीण बस्ती भने असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । एकीकृत रूपमा योजना सङ्कलन नगरी माथिल्लो निकायबाट बजेट विनियोजन हुँदा कार्यान्वयमा समस्या पर्ने गरेको प्रमुख पौडेलले बताए ।
पर्वत र बागलुङ गरी दुई जिल्ला कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा जनशक्तिको अभाव रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । चार प्राविधिकको दरबन्दी रहेको कार्यालयमा एक जनाको मात्र पदपूर्ति हुँदा समयमा योजनाको सर्भेक्षण, लगत अनुमान तयार तथा योजना कार्यान्वयन र फछ्र्योटमा समस्या पर्दै आएको उनले गुनासो गरे ।










