काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । खल्ती एपमार्फत उपलब्ध हुने यो योजनाले जीवन र स्वास्थ्य बीमा सेवालाई सरल, छिटो र सहज बनाउने लक्ष्य राखेको छ ।
मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत विवरण भरेर मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया घटाउँदै र चरणहरूलाई सहज बनाउँदै, दैनिक रूपमा प्रयोग हुने डिजिटल प्लेटफर्ममार्फत बीमा सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समेटिएको छ । एउटै योजनाभित्र विभिन्न सुरक्षण समावेश गरिएकाले ग्राहकले फरक–फरक बीमा व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।
‘सुरक्षा ३६०’ सिल्वर, गोल्ड र प्ल्यातिनम गरी तीन प्रकारका प्याकेजमा उपलब्ध छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार योजना छनोट गर्न सक्नेछन् । यस योजनामा २३ लाखदेखि ४६ लाख रुपैयाँसम्मको बीमा सुरक्षण उपलब्ध छ भने वार्षिक बीमाशुल्क ३ हजार ८१० रुपैयाँबाट सुरु हुने बताइएको छ । १८ देखि ५० वर्ष उमेर समूहका लागि लक्षित यो योजना किफायती र पहुँचयोग्य हुने विश्वास गरिएको छ ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले ‘सुरक्षा ३६०’ ले जीवनका विभिन्न चरणमा आवश्यक वित्तीय सुरक्षण प्रदान गर्ने विश्वास व्यक्त गर्दै डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई अझ सहज बनाउने उद्देश्य रहेको बताए ।










