समय : ११:१० am | बिहिबार , भाद्र १८ गते २०८३

हेटौँडाबाट वैकल्पिक सडकमार्फत काठमाडौंमा दैनिक १०० ट्रक ग्यास पठाइने

अर्थ विशेष | भाद्र १८ गते २०८३

काठमाडौं । भोटेकोशी नदी तथा देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीपहिरोका कारण पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभावलाई सम्बोधन गर्न सरकारले वैकल्पिक मार्गबाट ग्यास आपूर्ति सुरु गरेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आजदेखि हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक भरिएको एलपी ग्यास काठमाडौं उपत्यकामा पठाई वितरण गर्ने व्यवस्था सुरु गरिएको जनाएको हो ।

गएको भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा लेदो जमेर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएका कारण हाल यो राजमार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा छ । राजमार्ग अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं उपत्यकामा प्रवेश गर्न नसकेपछि केही दिनयता उपभोक्ताहरूले ग्यास अभावको चर्को सामना गर्नुपरिरहेको छ । उपभोक्ताहरूले भोग्नुपरेको यो असहज परिस्थितिलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

यस विषम परिस्थितिलाई सामान्य बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायहरूसँग निरन्तर संवाद, समन्वय र सहजीकरण गरिरहेको छ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने यो व्यवस्थालाई निरन्तरता दिइने मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाल आयल निगम र ग्यास व्यवसायीहरूसँगको निरन्तर सहकार्यका कारण उपत्यकामा देखिएको ग्यास अभावको समस्या आगामी केही दिनभित्रै क्रमशः समाधान हुँदै जाने विश्वास मन्त्रालयले व्यक्त गरेको छ । मन्त्रालयका तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ र आम उपभोक्ताको दैनिक जीवनमा थप असहजता नहोस् भन्नका लागि आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल भइरहेको प्रतिबद्धता जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्