काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिइने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मृतकका परिवारजनलाई सरकारले उक्त रकम बराबरको क्षतिपूर्ति दिन लागेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराए।
“पाँचथरमा दुई बालबालिकाको दुःखद् मृत्यु भयो । अहिले त्यत्ति भनौँ, कसरी निधन भयो भन्ने विषय पछि कुरा गरौँला”, उनले भने, “बिस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो, यहाँ अन्यौल भइरहेको छ तर पनि विस्फोटबाट दुई बालबालिकाको दुःखद मृत्यु भयो, मृतकका परिवारलाई सरकारले पाँच–पाँच लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार सरकारले गर्ने सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहन्छु ।”
यही भदौ १३ गते पाँचथरको फलेलुङ गाउँपालिका–५ प्रङबुङस्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा ज्ञानबहादुरका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री ओलीले देशभरि विभिन्न स्थानमा केही समययता प्राकृतिक विपत्तिका घटनाहरु भइरहेका तथा ती घटनामा जीवन गुमाउने, अङ्गभङग हुने, जनजनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्दै दिवङ्गतप्रति श्रद्धासुमन अर्पण गरे। साथै उनले दुर्घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने बताए।










