समय : ०१:०२ pm | आइतबार , कार्तिक २३ गते २०८३

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

अर्थ विशेष | कार्तिक २३ गते २०८३

कास्की । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूल मालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूल मालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूल मालाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ का विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु छ हजार २८० बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नष्ट गरिएको छ ।

“अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएपछि प्रतिबन्धित सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ”, प्रमुख कडरियाले भने । महानगरले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूल मालाको बिक्री वितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि औपचारिक सूचना जारी गरी त्यस्ता सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो ।

महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद नाघेका सामग्री बिक्री नगर्न सचेत गराइएको थियो ।

उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूल मालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोग र बिक्री वितरण निरुत्साहित गर्न आवश्यक रहेको बताए । तिहारमा यस्ता सामग्रीको बिक्री बढ्न सक्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

“कृत्रिम फूल मालाको विकल्पमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूल मालाको प्रयोगलाई प्रोत्साहन गरेका छौँ । फूल खेती गर्ने कृषकलाई महानगरले अनुदानलगायत सहयोग गरिरहेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायी र उपभोक्तालाई आग्रह गर्दै आएका छौँ”, उपप्रमुख गुरुङले भने ।

वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ । उक्त व्यवस्थाविपरीत कार्य गरेमा ऐनको दफाअनुसार जरिवाना हुने प्रावधान छ । पोखरा महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनका लागि आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्