म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो।
मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसैंपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका बताए।
“गत असोजको मनसुनजन्य विपदबाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउन युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्”, उनले भने, “पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन्।”
समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। बेनी, भुरुङ-तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।
अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याप्पसका प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा गर्न सकिने अन्नपूर्ण आधार शिविरको यात्रा छोटो, साहासिक र रमणीय भएको बताइन्।
पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ। सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ।
हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भार गरिएको छ।
आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुला सङ्ग्रहालय स्थापना गरिएको छ।
गत हप्ता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ। पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामकरण गरिएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए।
नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारीसाधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ।
पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविर क्षेत्रमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ।










