काठमाडौं । आज आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस हुँदै छ
दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रपतिले सदनको संयुक्त बैठकमा वाचन गर्नेछन् ।
राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम वाचन गरेपछि अर्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।
संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ ।
अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।