समय : १०:५२ am | सोमबार , असाेज २६ गते २०८३

हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेबाट आइपीओ ल्याउने

अर्थ विशेष | असाेज २६ गते २०८३

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमाआयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ५९ करोड १५ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता शेयर बिक्री गर्नेछ।

त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ। त्यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरिनेछ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयकालागि आइपीओ निष्काशन बन्द छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानीयले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा कार्यालय र लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्