समय : ०७:०४ pm | आइतबार , श्रावण १७ गते २०८३

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

अर्थ विशेष | श्रावण १७ गते २०८३

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम राख्न सर्वपक्षीय प्रतिबद्धता जनाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढीमा बसेको सर्वपक्षीय बैठकमा सहभागीहरूले सदियौँदेखि मिलेर बसेको समाजमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन सबै पक्ष मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा राजनीतिक दल, हिन्दु, मुस्लिम, इसाईलगायत धार्मिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रबाट सामाजिक सद्भाव र सार्वजनिक हितका लागि सक्रिय रहने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले पूर्वी नेपाल र तराई–मधेसका केही जिल्लामा धार्मिक सद्भाव विरोधी गतिविधि बढिरहेकाले त्यसको प्रभाव कैलालीमा पर्न नदिन उच्च सतर्कता अपनाइएको बताएका छन् । उनले सीमा क्षेत्रबाट हुने शङ्कास्पद गतिविधि, आवतजावत तथा जोखिम हुन सक्ने क्षेत्रहरूमा प्रशासनले कडा निगरानी गरिरहेको जानकारी दिँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।

हिन्दु, मुस्लिम र इसाई धर्मका अगुवाहरूले आफ्नो समुदायका व्यक्तिबाट कुनै पनि गलत गतिविधि हुन नदिन आफूहरू सचेत रहेको तथा कानुन विपरीत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडाध्यक्षको समन्वयमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकास्तरमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै, कुनै एउटा धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सकेसम्म धार्मिक सभा, जुलुस वा अन्य कार्यक्रम नगर्ने तथा गर्नै परे पूर्वस्वीकृति लिने, धार्मिक गतिविधिका क्रममा हतियार, लाठी, भालालगायत सामग्री प्रदर्शन वा प्रयोग नगर्ने र अर्को समुदायको धार्मिक आस्थामा आघात पुग्ने गतिविधि नगर्ने सहमति भएको छ ।

कुनै व्यक्ति वा संस्थाले कुनै धार्मिक समुदायको बदनाम हुने गरी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक, उत्तेजक वा द्वेष फैलाउने सामग्री प्रचार–प्रसार गरे कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसै गरी, जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य रूपमा परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने तथा स्थानीय प्रशासनले सीमामा उच्च निगरानी गर्ने जनाइएको छ ।

यस्तै, कैलाली उद्योग वाणिज्य सङ्घको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक सङ्घसंस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा सोमबार नागरिक सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्