काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) ले नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मत सम्भारका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ ।
एमसीए-नेपालले सोमबार सार्वजनिक सूचना जारी गर्दै ‘नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भार’का लागि योग्य निर्माण व्यवसायीबाट प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो ।
यो खरिद प्रक्रिया एमसीए-नेपालको खरिद नीति तथा निर्देशिका (पीपीजी) बमोजिम प्रतिस्पर्धात्मक बोलपत्र विधिमार्फत सञ्चालन हुनेछ । यस प्रक्रियामा पीपीजीअनुसार योग्य ठहरिएका सबै निर्माण व्यवसायीले सहभागिता जनाउन सक्नेछन् ।
इच्छुक निर्माण व्यवसायीले एमसीए-नेपालले उपलब्ध गराएको अनलाइन फाराम भरेर बोलपत्रसम्बन्धी सम्पूर्ण कागजात प्राप्त गर्न सक्नेछन् । कागजात प्राप्त गर्न समस्या भएमा एमसीए-नेपालले तोकेका इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।
नेपाल सरकारअन्तर्गत स्थापना भएको एमसीए-नेपालले ७४ करोड ७० लाख अमेरिकी डलर बराबरको पूर्वाधार कार्यक्रम कार्यान्वयन गरिरहेको छ । उक्त कार्यक्रमका लागि अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ भने नेपाल सरकारले १९ करोड ७० लाख अमेरिकी डलर बराबरको योगदान गरेको छ ।
कार्यक्रम अन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना सञ्चालनमा छन् । नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भार सडक मर्मत आयोजनाअन्तर्गत सञ्चालन हुने एमसीए-नेपालले जनाएको छ ।










