काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। सोही अवधिमा ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ (साउन–असार) सम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा आयात १६.२० प्रतिशत तथा निर्यात १३.८१ प्रतिशतले वृद्धि भएको हो।
तथ्यांकअनुसार समीक्षा अवधिमा कुल आयात २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ रहेको थियो।
यसैगरी, चालु आर्थिक वर्षमा कुल निर्यात ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा निर्यात २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ रहेको थियो।
आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा अझै उच्च रहेको विभागको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८८ करोड ५९ लाख ५९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.६३ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार (आयात तथा निर्यात) २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४४ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा आयात–निर्यात अनुपात ६.६५ गुणा पुगेको छ। अर्थात् प्रत्येक १ रुपैयाँ बराबरको निर्यात हुँदा करिब ६.६५ रुपैयाँ बराबरको आयात भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यो अनुपात ६.५१ गुणा रहेको थियो।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०७ प्रतिशत र आयातको हिस्सा ८६.९३ प्रतिशत रहेको विभागको तथ्यांकमा उल्लेख छ।










