काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिए ।
छलफलमा महासङ्घका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न र व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजनेस म्याचिङ’ एवं निर्यात प्रवर्द्धनका कार्यक्रममा अनिवार्य सहभागी गराउन आग्रह गरे ।
महासङ्घले विकास गरेको ‘म उद्यमी ट्रेडमार्क’लाई स्थापित गर्न गरेको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै उक्त ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाए । छलफलका क्रममा महासङ्घको वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग समेत गरिएको थियो ।
यस्तै, सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न उनीहरूले अनुरोध गरे ।
महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको गुनासो गर्दै उक्त सुविधा गाउँ–गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
महासङ्घलाई सरकारको नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै उनीहरूले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि महासङ्घले दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । आफ्ना समस्या गम्भीरपूर्वक सुनेर तत्काल पहल सुरु गरिदिएको भन्दै उनीहरूले प्रधानमन्त्री शाहसमक्ष कृतज्ञता व्यक्त गरे ।
“प्रधानमन्त्रीले हामीलाई सुन्नु मात्र भएन, समस्याको समाधानका लागि तत्काल पहल अघि बढाउनेदेखि आवश्यक सबै किसिमका सहकार्य गर्न तत्परता देखाउनुभयो,” महासङ्घकी अध्यक्ष दर्शना श्रेष्ठले भनिन्, “प्रधानमन्त्रीसँगको संवादले महिला उद्यमशीलताको प्रवर्द्धनमा मद्दत हुने हाम्रो विश्वास छ ।”
छलफलमा महिला उद्यमशीलताको प्रवर्द्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकास सम्बन्धमा कुराकानी भएको थियो ।
छलफलमा महासङ्घकी प्रथम उपाध्यक्ष सुनिता वैद्य, महासचिव सविता सुवेदी, तृतीय उपाध्यक्ष डिकीला लामा, उपाध्यक्ष महालक्ष्मी श्रेष्ठलगायतको सहभागिता थियो ।









