समय : ०२:१४ pm | बिहिबार , वैशाख ३१ गते २०८३

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

अर्थ विशेष | वैशाख ३१ गते २०८३

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। उनले लगानीमैत्री नीति र स्थिर वातावरणमार्फत देशको आर्थिक विकासलाई गति दिन सकिने बताए।

सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई बृहत् रूपमा नसमेटिएको आरोप लगाए। उनले मध्यमवर्गका लागि नीति तथा कार्यक्रम सकारात्मक भए पनि मधेसको कृषि र पर्यटनको सम्भावनालाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गरे।

सांसद उर्मिला अर्यालले कृषिको वृद्धिदर पाँच प्रतिशत पुर्‍याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताइन्। उनले मौलिक बीउको प्रवर्द्धन, वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन तथा दुग्ध विकास संस्थानको स्तरोन्नतिमा जोड दिइन् । मधेस प्रदेशको खानेपानी संकट समाधानका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न उहाँले सरकारसँग आग्रह गरिन्।

सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण, कूटनीतिक पहलमार्फत पर्यटन प्रवर्द्धन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको बताए।

यसैगरी, सांसद सुनिलबहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेका बेला स्वरोजगार सिर्जना गरी स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताए । उनले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आवश्यक भएकामा जोड दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्