समय : ०६:३५ pm | शुक्रबार , चैत्र २७ गते २०८२

नेपाल बीमा प्राधिकरणद्वारा नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

अर्थ विशेष | चैत्र २७ गते २०८२

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दैनेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार एवम् पहुँच अभिवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताए ।

प्राधिकरणले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखी काम गर्दै आएको उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले बीमा सम्बन्धी ऐन, नियम र निर्देशनहरू बमोजिम बीमा व्यवसायको गरिमा उच्च हुने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको विकास एवम् विस्तार, सुशासन कायम, नविनतम् प्रविधि अवलम्बन र बीमाको पहुँच विस्तारका लागि उपयुक्त वातावरण तयार गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण सदैव तयार रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले पछिल्लो समयमा बीमाको पहुँच उल्लेख्य रूपले बढ्दै गएर देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र बीमा क्षेत्रका अधिकाङ्श परिसूचकहरू पनि सकारात्मक रहेको जानकारी दिइन् ।

निर्देशक ढुङ्गेलले जोखिम व्यवस्थापनका साथसाथै ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तारलाई प्राथमिकता दिएर बीमा क्षेत्रलाई सशक्त, विश्वसनीय, आधुनिक र समावेशी बनाउन सामूहिक प्रयासको आवश्यकता औंल्याइन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणले विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी प्रकाशन गरेको चित्रकथामा आधारित बीमा सम्बन्धी जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरूका साथै विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्