काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसर पारेर नबिल बैंक, मालिगाउँ शाखाले काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १० देखि १२ सम्मका ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम बालबालिका तथा किशोरकिशोरीहरूमा आर्थिक चेतना र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष ग्लोबल मनी वीकको अवसरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा नबिल बैंक मालिगाउँ शाखाका प्रमुख उत्सव श्रेष्ठले बैंकिङ साक्षरता सम्बन्धी मुख्य प्रस्तुति दिएका थिए ।
कार्यक्रममा शाखाका सम्बन्ध अधिकृत कृपा दहाल र सञ्चालन इन्चार्ज कपिला लामिछानेको समेत उपस्थिति रहेको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको कार्यविधि, डिजिटल भुक्तानीका माध्यमहरू तथा सुरक्षित वित्तीय व्यवहारका बारेमा विस्तृत जानकारी गराइएको थियो । कार्यक्रमका वक्ताहरूले वर्तमान समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान हुनु अत्यावश्यक रहेकोमा जोड दिए ।
साथै विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे समेत व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूले यस कार्यक्रमबाट प्राप्त ज्ञानले भविष्यमा सही आर्थिक निर्णय लिन र सुरक्षित बैंकिङ कारोबार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नबिल बैंकले आगामी दिनमा पनि समुदायस्तरमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।








