गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले बिहीबार हुँदै आएको हवाई उडान कटौती गरेको हो ।
नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । अब आइतबार, मंगलबार र शनिबारमात्र उडान हुने रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए । वर्षात, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ ।
रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौंदेखि बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि ७ हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानमा मात्र उडान हुने गर्दछ ।
पछिल्लो समयमा हवाई सेवा लिने यात्रुको चाप बढ्दै गएको छ । तर, यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यात्रुहरू समस्यामा परेका छन् । जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरु गरेको थियो ।









