समय : ०३:४८ am | शनिबार , फागुन ८ गते २०८२

बीलबिजक बिना अवैध सामग्री नबोक्न आग्रह

अर्थ विशेष | फागुन ८ गते २०८२

रसुवा ।रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ ।नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही व्यवसायीले खेताला प्रयोग गरी थोरै परिमाणका सामान पटक पटक मितेरी पुल पार गराएर टिमुरे पु-याउने र त्यसपछि सार्वजनिक सवारीसाधनमार्फत त्रिशूली तथा काठमाडौँ लैजाने प्रवृत्ति बढेको पाइएपछि उक्त कार्य रोक्न प्रहरी सक्रिय बनेको हो ।

यस्तो गतिविधिले राज्यको राजस्व छलिने भएका कारण सवारीसाधनमा अवैध सामग्री नबोक्न चालकलाई अनुरोध गरिएको उनले बताए ।

प्रहरीका अनुसार सवारीसाधन जाँचका क्रममा अस्वाभाविक रूपमा खुद्रा सामान लुकाई छिपाइ ल्याउने घटना पटक पटक फेला परेपछि त्यस्ता सामग्री बरामद गरी सम्बन्धित निकायलाई बुझाउने गरिएको छ ।

खुला ट्रक लिएर केरुङ जाने र फर्कँदा लोड गरेर ल्याएका विद्युतीय उपकरणभित्रका खाली स्थानमा चिनियाँ चुरोट तथा मदिरालगायत विभिन्न सामग्री लुकाएर ल्याउने गरेको पाइएको छ ।

चेकपोस्टमा ठुला–साना सबै सवारीसाधनको नियमित जाँच भइरहेको र इभी मोटरभित्रका सम्भावित लुकाउने ठाउँमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विभिन्न मितिमा सशस्त्र प्रहरी बलले रु ११ लाख २८ हजार तथा नेपाल प्रहरीले रु एक लाख ८५ हजार बराबरका सामग्री बुझाएको छ ।

यस्तै भन्सार कार्यालयले रु ६२ लाख ७५ हजार बराबरको अवैध माल सामग्री बरामद गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराईले जानकारी दिए । प्रहरीले कानुन विपरीत सामग्री बोकेमा चालक, व्यवसायी र सम्बन्धित व्यक्तिलाई कारबाही हुने उल्लेख गर्दै सबैलाई राज्यद्वारा निर्धारण गरिएको मापदण्डअनुसार मात्र सामान आयात–निकासी गर्न अनुरोध गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्