समय : ०३:४९ am | आइतबार , कार्तिक १५ गते २०८२

सौराहा आउन थाले पर्यटक

अर्थ विशेष | असाेज २२ गते २०८२

चितवन। सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे। गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ।

यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ रद्द गरेपछि व्यवसायी निरास भएका थिए। क्षेत्रीय होटल सङ्घका उपाध्यक्षसमेत रहनुभएका थपलियाले मङ्गलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताए।

उनले भने, ‘दसैँको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ।’ आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उनको भनाइ छ। गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्कसहित होटलहरुमा पर्यटक आउन थालेको बताए। जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उनी बताउँछन्। नेपालीहरु न्यून भए पनि विदेशीको सङ्ख्या बढ्दो छ। उनले भने, ‘बुकिङ राम्रो नभए पनि सोझै आउनेहरु वढ्न थालेका छन्।’ साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरुमा आशा जगाएको पाण्डे बताउँछन्।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउनुहुन्छ। तिहारसँगै स्वदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको अनुमान छ। उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ।’ निकुञ्जभित्रको जङ्गल सफारीसमेत खुलेकाले यहाँ आउने पर्यटक बढेको उनले बताए। चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै उहाँले बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताए।

होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउँछन्। विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफु विश्वस्त रहेको उनको भनाइ छ। सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरुमा पर्यटकको आगमन बढेको बताउँछन्। हात्ती सफारी गर्नेहरु पनि क्रमशः बढ्दै गएको उनको भनाइ छ।

विगत वर्षहरुमा दसैँको समयमा हात्ती चढ्नेहरुका लागि पुर्‍याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दसैँभर सुनसान अवस्थामा रहेको उनले बताए। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन्।

उनीहरू निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन्। दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटे बाघलगायतका जनावार हेर्न उनीहरु रुचाउँछन्। यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्