समय : ०७:२१ pm | सोमबार , चैत्र ३० गते २०८२

‘छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ’

अर्थ विशेष | भाद्र १२ गते २०८२


महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए  । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै सम्बोधन गरी उहाँहरूलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए  ।

कृषि मन्त्रालयले किसानलाई अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउन महामन्त्री थापाले आग्रह गरे। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसको सहकार्यमा बनेको वर्तमान सरकारमा केही असमानता रहे पनि सरकार परिवर्तन नहुने उल्लेख गरे  ।

उखुको मूल्य तोक्न ढिलाइ गर्ने, भुक्तानीमा समस्या हुने, अनुदान नपाउनेलगायत किसानसँग जोडिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्काल छलफलका माध्यमबाट उपाय खोज्नुपर्ने उहाँको भनाइ छ । उखु किसानद्वारा गरिएको आन्दोलनलाई प्रधानमन्त्री र अर्थमन्त्रीले कुनै प्रतिष्ठाको विषय नबनाउने हो आजै समस्या समाधान हुने उनले धारणा राखे ।

“चालु आर्थिक वर्षमा अनुदानका लागि रु दुई अर्ब बजेट छुट्याइएको छ । कृषकलाई अनुदान उपलब्ध गराउन उक्त रकम छुट्याइएकाले समस्या समाधान गर्न कुनै द्विविधा छैन”, थापाले भने । उनले किसानका माग पूरा गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले छलफल गर्नुपर्नेमा जोड दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्