समय : ०४:२८ am | सोमबार , वैशाख ६ गते २०८३

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

अर्थ विशेष | श्रावण ३० गते २०८२


बेनी।आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नाँगी, राम्चे, काफलडाँडामा आलु उत्पादन घटेको छ। उत्पादन घटेपछि माग धान्न गाह्रो भएको छ।चिसो हावापानीमा उत्पादन हुने यहाँको आलु स्वादिलो र पौष्टिक हुने भएकाले सहरी क्षेत्रमा माग राम्रो छ। वडामा निर्यात हुने खाद्यबालीका रुपमा आलुखेतीलाई लिने गरिएको छ।
केही वर्षअघिसम्म गाउँमा आलुखेतीबाट किसानले राम्रो आम्दानी गरे पनि अहिले उत्पादन घटेपछि माग धान्न नसक्ने अवस्था आएको नाँगीकी किसान तथा अन्नपूर्ण गाउँपालिकाका सदस्य राममाया पुनले बताइन्।'गाउँका अधिकांशले व्यावसायिक आलुखेती गर्दै आएका छन्, अघिल्लो वर्ष आलु बिक्री गरेर एक लाख रूपैयाँसम्म कमाउने धेरै किसान थिए, यो वर्ष उत्पादन सोचेजस्तो भएको छैन, माग धेरै आएको छ, स्थानीय बजारमै धेरै आलु खपत हुने सम्भावना छ', उनले भनिन्।

यस वर्ष आलुखेती लगाउने र गोडमेल गर्ने समयमा वर्षा नभएको र खडेरीका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ।

सिँचाइको वैकल्पिक स्रोत र प्रबन्धन भएकाले आकासे पानीका भरमा आलुखेती गर्नुपर्दा खडेरीको समयमा किसानले दुःख र परिश्रमअनुसारको फल पाउन सकेका छैनन्। परम्परागतरुपमा लेकाली क्षेत्रमा उत्पादन भएको आलु कोसेलीका रुपमा दिने पनि चलन छ। धेरै उत्पादन गर्नेले बेँसीमा उत्पादन हुने धान, चामलसँग आलु सटही गर्ने गर्थे। गाउँगाउँमा यातायातको पहुँच बढेपछि मात्रै लेकाली क्षेत्रमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो।

पहिले गाउँमा उत्पादन भएको आलु धेरै भएर गाईभैँसीलाई पकाएर खुवाउने चलन रहेकामा गाउँमा गाडीको सुविधा भित्रिएसँगै आलु बिक्री हुन थालेको नाँगीका स्थानीय चन्द्रबहादुर खोरजाले बताए।

गत वर्ष १० मुरी आलु बिक्री गरेका खोरजाले यस वर्ष आलु उत्पादन घटेकाले आफन्तलाई कोसेली पठाउने र घरमा उपभोगमा मात्रै सकिने भएकाले बिक्री गर्न नपुग्ने बताए।

नाँगीमा उत्पादन भएको आलु गाउँबाटै प्रतिकिलो ४५ रूपैयाँमा बिक्री हुने गरेको छभने बजारमा प्रतिकिलो ८० देखि १०० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। गाउँमा रातो, जनकदेव र रैथाने जातको आलुखेती हुन्छ।

राम्चेका स्थानीय कृषक ओमबहादुर पुर्जाले बीउको प्रशोधन नगर्ने, खडेरी पर्ने र बाहिरबाट लगेको बीउमा रोगकीरा भित्रिएपछि त्यसको असर आलु उत्पादनमा देखिएको बताए।

यस जिल्लाबाट वार्षिक १० करोड रूपैयाँबराबरको आलु, कुष्मा, बागलुङ, पोखरा, काठमाडौंलगायत बजारमा बिक्री हुने गरेको छ। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहलगायतले जिल्लामा आलुखेती विस्तारमा सहयोग गर्दै आएका छन्। म्याग्दीमा एक हजार ८२० हेक्टर जमिनमा आलु खेती हुने गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्