समय : ०१:५० pm | सोमबार , चैत्र १६ गते २०८२

समृद्धि फाइनान्सद्वारा ३.१९ करोड खुद नाफा आर्जन

अर्थ विशेष | श्रावण २९ गते २०८२

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको समृद्धि फाइनान्स कम्पनीले गत आर्थिक वर्ष ०८१/८२ मा खुद नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनी १३ करोड ६१ लाख रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ८५ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.१८८ प्रतिशतले बढी हो । कम्पनीले यस अवधिसम्म १ करोड ५२ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म भने यस्तो रकम ७१ लाख ७ हजार मात्रै थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी १४ करोड ९ लाख रुपैयाँले धनात्मक बनेको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षमा २०.२३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ९.६६ प्रतिशतमा झरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ६२ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २९ करोड ५१ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको निक्षेप संकलन २ अर्ब ७८ करोड र कर्जा प्रवाह १ अर्ब ८३ करोड रुपैयाँ बराबर रहेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा भने ६२ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.९० रुपैयाँ , प्रतिसेयर नेटवर्थ ६२.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३८.३३ गुणा र तरलता अनुपात ३८.३७ प्रतिशत कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्