समय : ०३:३० am | बिहिबार , श्रावण १४ गते २०८२

संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

अर्थ विशेष | असार ६ गते २०८२

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नउत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेका थिए ।

सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनै कार्यसूची तय भएको थियो । त्यसपछि दुवै दलका सांसद बैठक छोडेर निस्किए । सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइएको छ ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा छलफलका निर्धारित युवा तथा खेलकुद र  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची हटाइएको छ । दुवै मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि उक्त छलफल कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी र्दिए  । 

प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक  हितराज पाण्डेले आफूहरुसँग सरसल्लाह नगरी कार्यसुचीबाट हटाइएको विषयमा असहमति जनाए । उनले सम्बन्धित मन्त्रीको अनुपस्थितीमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन नहुने धारण राखेपछि ती मन्त्रालयमाथिको छलफलको कार्यसूची हटाइएको हो । 

बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्