समय : १२:३९ am | बिहिबार , श्रावण १४ गते २०८२

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

अर्थ विशेष | असार १ गते २०८२

विराटनगर। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको जनाएका छन्। उनले विषयगत रूपमा सबैभन्दा बढी पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड बजेट विनियोजन गरेका छन्। कुल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ १० करोड (०.३ प्रतिशत) विनियोजन भएको छ। चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री मगरले जनाएका छन्।

कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सबैभन्दा राजस्व बाँडफाँटलाई लिइएको छ। प्रदेशको आन्तरिक राजस्वबाट जम्मा ५ अर्ब ५० करोड अनुमान गरेको सरकारले राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख संकलन हुने अनुमान गरेको छ।

संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख र समपूरक अनुदानबाट ३९ करोड १७ लाख आम्दानी हुने जनाइएको छ। विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख संकलन हुने भएको छ। रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख र बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोडगरि खर्च व्यहोरिने मन्त्री मगरले जनाए।

बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख विनियोजन गरिएको छ। शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि सबैभन्दा कम ९६ करोड विनियोजन गरिएको हो।

चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने विश्वास गरिएको छ। प्रदेशले विगतका बहुवर्षीय आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्