समय : ०९:५० pm | आइतबार , चैत्र १५ गते २०८२

१० महिनामा पौने १५ खर्बको आयात, ७२ प्रतिशतले बढ्यो निर्यात

अर्थ विशेष | जेठ ७ गते २०८२

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म नेपालमा पौने १५ खर्बको वस्तु आयात भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।विभागकाअनुसार समीक्षा अवधिमा भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपालबाट एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि हुन पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सबैभन्दा धेरै आयात डिजेल र निर्यातमा सोयाबिन तेल

चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै मूल्यको आयात डिजेलको भएको छ ।

समीक्षा अवधिमा नेपालमा एक खर्ब दुई अर्ब ३८ करोड ९७ लाख ७५ रुपैयाँ बराबरको डिजेल आयात भएको विभागले जनाएको छ ।

त्यस्तै, दोस्रो धेरै मूल्य बराबरको आयातमा ८१ अर्ब ८९ करोड ६३ लाख आठ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ र तेस्रो धेरै मूल्य बराबरको आयातमा ५३ अर्ब पाँच करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको पेट्रोल रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको निर्यात हुने पहिलो वस्तुमा सोयाबिन तेल र त्यसको कच्चा पदार्थ रहेको छ । १० महिना अवधिमा नेपालबाट ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसको कच्चापदार्थ निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट १० अर्ब नौ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र त्यसको कच्चापदार्थ र आठ अर्ब ८४ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्