समय : १०:०७ am | बिहिबार , चैत्र १२ गते २०८२

सेयरबजार, करिब ८ अंकले घट्यो

अर्थ विशेष | जेठ ७ गते २०८२

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२९ प्रतिशत अर्थात ७.९४ अंकले घटेर २ हजार ६६९.५१ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले घटेर ४५०.८४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नवनियुक्त गभर्नरलाई बधाई दिदै भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था बुझेका व्यक्ति गभर्नर नियुक्त भएका छन् । यसले समग्र अर्थतन्त्र तथा पूँजी बजारलाई टेवा पुग्ने छ । लगानीकर्ताका केही मागहरु पनि पुरा गर्ने, क्याप हटाउने, जोखिमभार घटाउने जस्ता कार्य गभर्नरबाट हुने अपेक्षा गर्न सकिन्छ ।’

उनले आजको बजारको करेक्सनले बजार थप मजबुत बनेको र कारोबार पनि साढे १० अर्ब माथि पुगेको बताए । उनले ढिलै भएपनि योग्य व्यक्ति गभर्नर नियुक्त गरेकोमा सरकारलाई धन्यावाद पनि दिए ।

त्यस्तै अर्का बजार जानकार प्रेम ओलीले लगानीकर्ताको अपेक्षा धेरै भएको तर नवनियुक्त गभर्नरले पूँजी बजारको विषयमा केही नबोलेका कारण पहिलो प्रहरमा बढेको बजारमा करेक्सन आएको बताए । ‘बजारमा कारोबारी हाबी भएका कारण बजारमा आज करेक्सन आएको छ । तर बजारलाई कारोबारको साथ भने रहेको छ । आगामी दिनमा भने बजारले सकारात्मक बाटो समात्ने देखिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने अन्य ९ वटा समूहमा रातो पोतियो । बैंकिङ समूह आज ०.२६ प्रतिशत,विकास बैंक ०.२३, म्युचुअल फण्ड ०.२४ र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढ्यो ।

हाईड्रो समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.८९ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.२० प्रतिशत, होटल ०.२०, लगानी ०.३५, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.६८,लघुवित्त ०.४९, अन्य ०.७२ र व्यापार समूह ०.०४ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्