काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.८६ प्रतिशत अर्थात ४९.०९ अंकले बढेर २ हजार ६७७.४५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले बढेर ४५१.०१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज अर्थमन्त्रीले गभर्नर सिफारिस समितिको बैठक डाकेका छन् । यस्तै मन्त्रिपरिषदको बैठक पनि आजनै डाकिएकाले गभर्नर नियुक्ति हुने आँकलनका साथ आज बजारमा सुधार आएको हो ।’
यद्यपी आज बजार बढेता पनि यसलाई स्विङ मात्रै भन्न सकिने उनले बताए । ‘दीर्घकालिन रुपमा बजार बढ्नका लागि भने गभर्नरले अपनाउने मौदिक्र नीति र बजेटले अहम् भूमिका खेल्नेछ । प्राविधिक रुपमा पनि बजार २६९० देखि २७ सय विन्दुसम्ममा प्रतिरोध रहेको देखिन्छ र यहाबाट माथि लागे बजारले केही समय अप ट्रेण्ड लिने छ,’ उनले भने ।
त्यस्तै नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारीले पनि आज सत्तारुढ दलबीच गभर्नर नियुक्तिको विषयमा जुटेको सहमतिले बजारमा सकारात्मक प्रभाव पारेको बताए ।
‘गभर्नरमा चर्चा भएका डा. विश्व पौडेल पूँजी बजारप्रति सकारात्मक नै देखिन्छन् । यसकारण अहिले मन्दीमा रहेको अर्थतन्त्र सकारात्मक दिशामा जाने सम्भावना देखिन्छ,’ उनले भने ।
बजारमा गूड न्यूजको अभाव भएका बेला पौडेल गभर्नर बनेमा सर्वत्र सकारात्मक माहौल बन्ने पनि उनले दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.६८ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.१५ प्रतिशत, विकास बैंक ३.०१, फाइनान्स २.६०, हाईड्रो २.६०,लगानी २.६३,जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.७८,लघुवित्त १.४३, म्युचुअल फण्ड ०.४०,निर्जीवन बीमा १.९३,अन्य ०.७७ र व्यापार समूह १.५० प्रतिशतले बढ्यो ।









