समय : १०:०८ am | बिहिबार , चैत्र १२ गते २०८२

लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार

अर्थ विशेष | जेठ ५ गते २०८२

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७४ प्रतिशत अर्थात १९.३० अंकले बढेर २ हजार ६२८.३६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ४४२.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यससँगै नेप्से पछिल्लो ६ कारोबार दिनपछि बढेको छ । आज कारोबार भने घटेको छ । अघिल्लो दिन भने ८ अर्ब ५० करोड बढीको कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आज बजार बढेपनि कारोबार भने बढ्न सकेन । बजेट नजिकिदै गर्दा समेत बजारले खासै गति लिन सकेको छैन । बजेटमा वृद्धभत्ताको उमेर बढाउने भनिएको छ र यसले सरकारको ढुकुटीमा दबाब परेको बुझ्न सकिन्छ । यस्तै बजेटमा करका दायराहरु समेत बढ्न सक्ने सम्भावना रहेको छ ।’

आज बजार बढेतापनि प्राविधिक रुपमा बजार २६७० विन्दुभन्दा माथि नलागिकन बजारले माथिको यात्रा लियो भन्न नमिल्ने उनले बताए ।

अर्का बजार जानकार विनोद अर्यालले बजारमा आज नेप्से परिसूचक बढेतापनि कारोबारमा सुधार आउन नसकेको बताए । ‘यो भनेको लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् भन्ने हो । गभर्नर र राजावादीहरुको आन्दोलनको विषयले लगानीकर्तामा यतिबेला अन्यौलता छाएको देखिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक बढ्यो । यो समूह आज २.०१ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२८ प्रतिशत, फाइनान्स ०.७३,हाईड्रो १.०५,लगानी ०.७६,जीवन बीमा ०.५७,उत्पादन तथा प्रशोधन ०.३८,लघुवित्त ०.२२,म्युचुअल फण्ड ०.३७,निर्जीवन बीमा १.४१,अन्य ०.५५ र व्यापार समूह १.०८ प्रतिशतले बढ्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्