कर्णाली । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन्। सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए ।
भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिंगटा लाग्ने, झोक्राउने समस्यापछि मृत्यु हुने गरेको छ,ु उनले भने, यो तीन दिनमा १० र एक महिनामा २३ भेडा मरिसकेका छन्।यसरी भेडा मर्न थालेपछि उपचारका लागि पशु प्राविधिकलाई खबर गरिएको उनको भनाइ छ।
हिमा गाउँपालिकाका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा पशु प्राविधिक पठाउने तयारी भइरहेको बताए। उनका अनुसार औषधि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ।
औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढरिहेको छ। उनले उपचार तथा रोकथामका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लामा औषधिको माग गरिएको बताए।
पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा रहेको पशु शाखाले पहिचान गरेको रोगका आधारमा औषधि पठाउने जानकारी दिए।
भेडा मर्न थालेपछि भेडीगोठ नदै पाटनबाट कालाकाटियातिर सारिएको स्थानीय किसानले जानकारी दिएका छन्।









