काठमाण्डौ । नेप्सेको गिरावट आजपनि जारी रहेको छ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । यससँगै नेप्से परिसूचक लगातार चौथो दिन घटेको छ ।
आज नेप्से परिसूचक १.२० प्रतिशत अर्थात ३२.३८ अंकले घटेर २ हजार ६५५.९४ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२९ प्रतिशतले घटेर ४४६.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विष्णु भुसाल भन्छन्, ‘ गभर्नरको नियुक्तीको समयमै हुन नसक्दा लगानीकर्तामा अझै अन्यौलता कायमै छ । यही कारण आजपनि बजारको गिरावट जारी रह्यो । गभर्नर नियुक्ति लागि गठित सिफरिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि गभर्नर नियुक्तिको विषय झन पेचिलो बन्दा बजारमा त्यसको प्रभाव परेको छ ।’
यद्यपी यो समय भने दीर्घकालका लागि लगानी गर्ने उपयुक्त समय भएको उनले बताए ।
अर्का बजार जानकार नीमानन्द कंडेलले पनि गभर्नरको नियुक्तिमा ढिलाई हुँदा बजारमा अस्थिरता बढेको बताए । ‘यो सँगसँगै लगानीकर्ताले तीव्र नाफा बुक गर्दा समेत बजारमा करेक्सन आएको छ । प्रमुख प्रतिपक्ष दलका नेता विदेशमा रहेकाले पनि तत्कालै गभर्नर नियुक्तिको सम्भावना नरहेकाले लगानीकर्ता हतोत्साहित बनेका छन,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढ्यो । उत्पादन तथा प्रशोधन समूहमा आज ०.३९ अंकले बढ्यो ।
विकास बैंक समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज २.०९ प्रतिशत,बैंकिङ १.२३, फाइनान्स १.१४,होटल १.११, हाईड्रो १.७५,लगानी १.७९,जीवन बीमा ०.३३, लघुवित्त १.०२,निर्जीवन बीमा ०.९८,अन्य १.८३ र व्यापार समूह ०.४० प्रतिशतले घट्यो ।









