काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.५७ अंकले घटेर २ हजार ६७०.७० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले बढेर ४४६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन नेप्सेमा ४ अर्ब ४८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, ‘आजसम्म रहेको चैत मसान्तको दबाब र गभर्नरको नियुक्ती हुन नसक्दा लगानीकर्ताको मनोबल उकासिन सकेको छैन । यही कारण आज बजारमा अपेक्षा अनुरुप सुधार देखिएन ।’
राजनीतिक दलहरुको निरीहताका कारण गभर्नरको नियुक्तीमा ढिलाई भएको वा यस विषयमा चलखेल समेत भएको हुनसक्ने आँकलन गरे ।
बजार जानकार सुमन रिजालले पनि गभर्नरको टुङ्गो नलाग्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेको तर्क गरे । यसका साथै चैत महिनाको दबाबका कारण समेत यो साता बजार बढ्न नसकेको तर आगामी साताबाट भने बजारमा सुधार आउने उनले विश्वास व्यक्त गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज हाईड्रो, लघुवित्त र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.०९,०.२३ र ०.१९ प्रतिशतले बढे ।
व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३७ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.०२ प्रतिशत, विकास बैंक ०.३८,फाइनान्स ०.५५,होटल ०.४३,लगानी ०.२६,जीवन बीमा ०.२५,उत्पादन तथा प्रशोधन ०.९८, निर्जीवन बीमा ०.०४,अन्य १.०४ र व्यापार समूह १.३७ प्रतिशतले घट्यो ।









