काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ ।
उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सालले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरेको जानकारी गराए ।
उद्योग विभागले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्नेबारे सरोकारलावालाबीच छलफल गरेको थियो । सो छलफलमा सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने नीतिगत तथा कानुनी व्यवस्थामा पुनरावलोकन गर्न आग्रह गरिएको उनले बताए ।
उहाँले हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध आएकाले शतप्रतिशत चित्र राख्ने कुरामा पुनरावलोकन गर्न आग्रह गरे ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ मा चुरोट र सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र तथा चेतावनीमूलक सन्देश छाप्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । उक्त व्यवस्था आगामी साउनदेखि चुरोट, खैनी, गुट्खा, बिडीलगायत सुर्तीजन्य पदार्थमा अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र अनिवार्य छाप्नुपर्ने हुन्छ ।









