काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छन्। बैंककमा आयोजित छैटौँ बिमस्टेक समिट अन्तर्गत २० औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताइन्।
उनले बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एशियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका नागरिकको आर्थिक समृद्धिको सम्भावनालाई थप उजागर गर्ने प्रयत्न बिमस्टेकले गर्नुपर्ने बताइन् ।
उनले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनास र प्रदूषणको विनाशकारी प्रभावजस्ता कारणले बंगालको खाडी क्षेत्र जोखिममा रहेकोले पूर्वाधार निर्माण, पूर्व चेतावनी प्रणालीमार्फत विपद् रोकथाम तथा स्थानीय समुदायहरूलाई वातावरण संरक्षणमा संलग्न गराउनुपर्ने कुरामा जोड दिइन् ।
उनले बिमस्टेक फ्रि ट्रेड एरियाको सञ्चालन, इपिजी रिपोर्टको कार्यान्वयन, ट्रान्सपोर्ट कनेक्टिभिटीका लागि मास्टर प्लान र आयोजनाहरुको पहिचान तथा क्षेत्रीय केन्द्रहरुको पूर्ण परिचालन बिमस्टेकका लागि आवश्यक रहेको सुझाव दिइन् ।









