काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३२.२१ अंकले घटेर २ हजार ७१९.२० विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४५६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा स्क्रिप्टको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यससँगै नेप्से लगातार ७ दिन घटेको छ । यो अवधिमा नेप्से परिसूचक १३९.२३ अंकले घटेको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘ राजनीतिक विषयका कारण सेयर बजार विगत केही दिनदेखि निरन्तर घटिरहेको छ । सामाजिक सञ्जालमा आईरहेका नकारात्मक टिप्पणीका कारण समेत बजारमा दबाब परेको छ ।’
लगातार बजार घट्नुले प्यानिक सेलको अवस्थामा बजार पुगेको उनले बताए । यद्यपी पौडेलले हाईड्रो र विकास बैंक चल्न थालेपछि फेरि बजार सम्हालिने विश्वास व्यक्त गरे । ‘सेयर कर्जा प्रवाह राम्रै भएको छ र बजारमा तरलता समेत सहज छ,’ उनले भने
अर्का बजार जानकार नीमानन्द कंडेलपनि पनि राजनीतिक कारणले बजार घटेको बताए । लगानीकर्तामा ठूलो आन्दोलन हुन्छ कि भन्ने भयले डेरा जमाउदा उनीहरु अत्तालिदा बजारमा गिरावट आएको कंडेलले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज विकास बैंक समूह १.९३ प्रतिशतले बढ्यो ।
उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात २.४९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७१ प्रतिशत,फाइनान्स १.५७, होटल १.१३,हाईड्रो १.५१, लगानी १.८९,जीवन बीमा १.३०,लघुवित्त ०.८९,म्युचुअल फण्ड ०.१०,निर्जीवन बीमा ०.९९,अन्य १.६८ र व्यापार समूह १.७९ प्रतिशतले घट्यो ।









