समय : १०:१७ pm | बुधबार , चैत्र ११ गते २०८२

झिनो अंकले घट्यो नेप्से

अर्थ विशेष | फागुन २२ गते २०८१

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.७० अंकले घटेर २ हजार ८१८.४३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२२ प्रतिशतले बढेर ४७०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर १० अर्ब १० करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘हिजोआजको बजारको घटाई सामान्य करेक्सन मात्रै हो । अहिलेको बजारमा एक्युमुलेशन चलिरहेको भन्न सकिन्छ । मौद्रिक नीतिको समीक्षाको व्यवस्थाले वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक रिपोटमा सुधार आउने देखिन्छ । यसकारण तेस्रो त्रैमासपश्चात बजारले गति लिनेमा ढुक्क हुन सकिन्छ । ’

पाठकले हालका गभर्नर पुनः दोहोरिने विषय अफवाह मात्रै भएको बताए ।

अर्का बजार जानकार तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाले हालको बजार सप्लाई जोनबाट करेक्सन आएको बताए । ‘आजको कारोबारमा अनिर्णयको क्याण्डल बनेको छ । बजार घट्दा कारोबार घट्नु भने त्यति राम्रो मानिदैन ।’

हाललाई भने १५ अर्बसम्मको दैनिक कारोबार भएको खण्डमा बजारले अप ट्रेण्ड लिन सक्ने उनले बताए । यस्तै उनले बजारले २७६० देखि २७८० मा बलियो सपोर्ट लिनसक्ने दाबी गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज विकास बैंक समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.८६ प्रतिशतले बढेर ५ हजार ९११ विन्दुमा पुग्यो ।

यस्तै आज बैंकिङ समूह ०.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त समूह ०.०५ प्रतिशतले बढ्यो ।

जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.२३ प्रतिशत,होटल ०.५७, हाईड्रो ०.०६,लगानी ०.१४,म्युचुअल फण्ड ०.१८, निर्जीवन बीमा ०.०४,अन्य ०.७१ र व्यापार समूह ०.२४ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्