समय : ०४:४३ pm | बुधबार , चैत्र ११ गते २०८२

आज पनि दोहोरो अंकले घट्यो नेप्से

अर्थ विशेष | माघ १४ गते २०८१


काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.५४ अंकले घटेर २ हजार ६३३.३९ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४४१.५३ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘हिजो आजको करेक्सनले बजारमा अझै करेक्सन फेज नसकिएको देखिएको छ । अहिले बढ्ने सिजनमा समेत बजारले गति लिन सकेको छैन । बैंकिङ इन्डेक्सले बजारलाई सपोर्ट गर्न सकेको छैन ।’

उनले कोरोना कालपछि बजारमा ट्रेडिङ स्टकहरुको दबदबा रहेको बताए । जसका कारण लगानीकर्तामा विश्वासको कमी हुँदा बजारले खासै उचाई लिन नसकेको उनले बताए ।

अर्का बजार जानकार दामोदर गजुरेलले बजारलाई आज कारोबारले सपोर्ट गरेको र स्मार्ट मनि बजार पसेको बताए । ‘ सेक्टर रोटेशन हुन नसक्दा हिजो आज बजारमा वृद्धि देखिएन । यद्यपी आज फाइनान्समा भने आकर्षण देखिएको छ’ उनले भने ।

गजुरेलले आज केही कम्पनीहरुमा नाफा बुक समेत भएको बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ३.४६ प्रतिशतले बढ्यो । विकास बैंक समूह आज ०.७२ प्रतिशत,हाईड्रो ०.३५,उत्पादन तथा प्रशोधन ०.६७ र लघुवित्त ०.०४ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज सर्वाधिक अर्थात १.८३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५५, होटल ०.५१,लगानी ०.७७,जीवन बीमा १.१०,म्युचुअल फण्ड ०.६४,निर्जीवन बीमा ०.६७ र अन्य १.६६ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्