काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन्। बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिएको उनको दाबी छ।
नेपाल आर्थिक पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष ०८१र८२ को बजेटमाथिको छलफल कार्यक्रममा मन्त्री पुनले सरोकारवाला सबैले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएको बताए।
‘बजेटबारे अलिअलि आलोचना त आउँछ भन्ने लागेको थियो। केही ठाउँबाट आलोचना पनि आयो । त्यसमा पनि म खुसी नै छु,’ उनले भने, ‘तर, अझै धेरै आलोचना आउन सक्ने अधिकांशबाट बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएका छन्। त्यसबाट म आफैँ सरप्रराइज भएको छु। म आफैँलाई पनि तथ्यमा आधारित भएर नै बजेट आएजस्तो लाग्छ।’
अर्थमन्त्री पुनले सबै मन्त्रालय र निकायहरूको मिहिनेत र सरोकारवालाहरूको सुझावका आधारमा बजेट ल्याउन सफल भएको बताए। उनले भने, ‘संसदमा मैले बजेट प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालयहरूको मिहिनेत परेको छ । प्रि–बजेट डिस्कसनहरूको समेत प्रभाव यसमा पर्छ।’
नीतिगत अस्थिरता कम गर्न अहिले कमभन्दा कम क्षेत्र चलाइएको भन्दै उनले कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायत प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्ने प्रस्ट पारे।










