समय : ०७:३६ pm | सोमबार , पौष ८ गते २०८१

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

अर्थ विशेष | पौष ८ गते २०८१

त्रिवेणी (नवलपरासी)। नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।

जिल्लाका चार वटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन् । कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकाका २० बिघामा प्याजखेती गर्ने योजनासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वले काम सुरु गरेको हो ।

सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई नगद रु २० हजार राशिको पुरस्कार वितरण गरिने छ । दोस्रोलाई रु १५ हजार, तेस्रो हुनेलाई रु १० हजार र चौथो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसमेत प्रदान गरिने छ । क्षेत्रफलको आधारमा नभई उत्पादनको आधारमा उक्त पुरस्कार प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।

दिनानुदिन प्याजको प्रयोग बढ्दो तर नेपालमा प्याज उत्पादन नगण्य हुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई केही हदसम्म भए पनि घटाउने उद्देश्यले प्याज प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको हो । प्याज खेतीका लागि अहिले सामूहिक नर्सरी निर्माण गरिएको छ । नर्सरीमा नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजका बिरुवा हुर्किरहेका छन् ।

प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त भएकाले उत्पादन धेरै हुने वरिष्ठ कृषि अधिकृत सिंहले बताए । कार्यालयले किसानको आवश्यकताअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने तथा बीउ निःशुल्क उपलब्ध गराइएको जनाएको छ । साथै कार्यालयले प्याजखेती प्रवर्द्धन कार्यक्रमका लागि रु १७ लाख बजेट विनियोजन गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्