समय : ०६:२४ am | मङ्गलबार , भाद्र २३ गते २०८३

देउसीभैलोमा रमाए पर्यटक

अर्थ विशेष | कार्तिक २० गते २०८१

म्याग्दी । जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन्

अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरुले स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा नाँचगान गरेर रमाइलो गरेका हुन् । इच्छुक पर्यटकले भाइटिका पनि लगाएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले तिहारमा पुनहिल आमा समूहले आयोजना गरेको देउसीभैलोमा पर्यटकहरु पनि नाचगान गरेर रमाइलो गरेका बताइन् ।

घोडेपानीका साथै शिख, घार, भुरुङ्ग–तातोपानी, दाना, नारच्याङको देउसीभैलोमा पनि पदयात्रामा आएका पर्यटकहरु रमाएका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको दाना–नारच्याङ, भुरुङ्ग–तातोपानी, घार, शिख, घोडेपानी, उल्लेरी, घान्द्रुक, नयाँपुल भ्रमण गर्न आउने पर्यटकका लागि घोडेपानी केन्द्रमा पर्दछ । पर्यटकलाई संस्कृतिको बारेमा जानकारी गराउने, संस्कृति संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र आयस्रोत जुटाउने उद्देश्यले देउसीभैलो आयोजना गरिएको पुनहिल आमा समूहका अध्यक्ष तारा पुनले बताइन् ।

पुनहिल आमा समूहले घोडेपानीमा मगर सङग्रहालय सञ्चालन गरेको छ । मगर समुदायको पोशाकमा सजिएर स्थानीय कलाकारले आफैँ गीत गाउने, भैलो भट्याउने, बाजा बजाउने र नाच्ने गरेका थिए ।

तिहारमा खेलिने देउसीभैलोमा पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेले पनि रमाइलो मानेका अध्यक्ष ताराले उल्लेख गर्नुभयो । देउसीभैलो खेल्न पुगेकाहरुले सम्बन्धित घरको वर्णन गर्दै नाच्ने, गाउने र आशिष दिने गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्