समय : ०६:३५ pm | बुधबार , श्रावण १४ गते २०८२

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

अर्थ विशेष | श्रावण १ गते २०८२

पाल्पा। धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार ५६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए। धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदीधामदेखि देवघाटसम्मको पैदलमार्गअन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लामो पैदलमार्ग निर्माण थालिएको नगर प्रमुख थापाले बताए।

“यस मार्गमा ढुंगा छाप्ने र ‘इन्टरलक’ लगाउने काम भइरहेको छ, नदी किनारको प्राकृतिक सौन्दर्य र धार्मिकस्थलको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पुर्‍याउनेछ”, नगर प्रमुख थापाले भने।

यस मार्गमा आव ०८१/०८२ मा विभिन्न स्थानमा दुई मिटर चौडाइको इन्टरलक राखेर ढुंगा छाप्ने काम सम्पन्न भएको छ। वडा नं ३ स्थित केलादीमा ५५७ मिटर, ६ को ज्याग्दीपार्कमा १९१ मिटर, तिलकपुरमा ४३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा १९५ मिटर इन्टरलक, ८ स्थित भुजात क्षेत्रमा ६७८ मिटर ढुंगा छाप्ने र २१० मिटर इन्टरलक, १० को शालिकराम पार्कमा ११४ मिटर ढुंगा छाप्ने र नरमदेश्वर मन्दिरमा १९० मिटर इन्टरलक राख्ने र ढुंगा छाप्ने काम भएको छ।

यसैगरी, वडा भानघाट र तातोपानीघाटमा प्रतीक्षालय निर्माण गरिएको छ। यो परियोजना संघीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालन भएको हो।

धार्मिक महत्वको कालीगण्डकी नदी रामनदीधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम, देवघाटसँग जोडिएकाले पैदलमार्ग निर्माणबाट यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्