मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ(५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।
जोमसोम-कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा पर्ने ढुम्बातालसम्म सडकको पहुँच जोडिएसँगै आन्तरिक तथा पर्यटकको उपस्थिति वृद्धि हुन थालेको हो । मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाका पुगेर फर्किएका पर्यटकले ढुम्बातालको अवलोकन गर्न छुटाउँदैनन् । गण्डकी प्रदेश सरकारले ढुम्बाताल जोड्नेगरी घरपझोङ रिङरोड सडक स्तरोन्नति गरेकाले पर्यटकलाई ढुम्बाताल पुग्न सहज भएको हो ।
ताल छेउ रेष्टुरेन्ट सञ्चालन गर्नुभएकी सनी थकालीले पर्यटकीय याममा दैनिक २०० देखि ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक ढुम्बातालको अवलोकन गर्न आउने गरेको जानकारी दिए । “विशेषगरी दशैंतिहार र औँसी तिथिमा धेरै पर्यटक यहाँ आउनुहुन्छ, अन्य समयमा औसत ४०/५० जनाको हाराहारी पर्यटक आउँछन्”, उनले भने, “बर्सेनि सडक सुविधा सहज हुँदै गएकाले पर्यटक सङ्ख्या वृद्धि भइरहेकोे छ ।”
यो ताल पछिल्लो समय ‘पान बुट्टे’ तालका रुपमा पनि परिचित छ । ढुम्बाताल माथिको अग्लो स्थानमा अवलोकन गर्दा ढुम्बाताल प्रेम चिह्नका आकारमा देख्न सकिन्छ । यसैका कारण ढुम्बाताललाई पान बुट्टे ताल भन्ने गरिएको हो । करिब १३० मिटर दूरीमा फैलिएको नीलो रङ्गको ढुम्बाताल अग्लो स्थानको जङ्गलको फेदमा छ । नीलगिरि हिमालको फेदमुनिको मूलको पानी सिञ्चित भएर यो ताल बनेको स्थानीयको भनाइ छ ।









