समय : ११:३८ pm | बिहिबार , वैशाख ११ गते २०८२

‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित

अर्थ विशेष | चैत्र २० गते २०८१

झापा। कोसी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । प्रदेश सरकारले यही चैत २७ गते तेह्रथुमको गुराँस क्षेत्र तीनजुरे मिल्केमा एक समारोहका बीच ‘कोसी पर्यटन वर्ष–२०८२’ प्रारम्भ गर्दैछ ।

कोसी पर्यटन वर्ष’ निर्देशक समितिका सहसंयोजक भवष श्रेष्ठले पर्यटकीय आधारमा कोसी मुलुकका साथै विश्वको उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताए । उनले यहाँका सम्भावनायुक्त गन्तव्यहरूको महत्त्व र सौन्दर्यकाबारेमा पर्याप्त प्रचारप्रसार हुन नसकेको धारणा व्यक्त गरे ।

“पर्यटनमार्फत मुलुकको समृद्धि खोज्न आगामी वर्ष महत्वपूर्ण आधारशीला बन्नेमा निजी क्षेत्र आशावादी छन्”, पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठले भने, “यसबाट कोसी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

उनले मुलुकको होचोस्थान कचनकवलदेखि विश्वको अग्लो चुचुरो सगरमाथा भएको प्रदेशका रूपमा कोसी रहेको बताउँदै पर्यटन वर्षमा पर्यटकीयस्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र नीति निर्माणका लागि विभिन्न कार्यक्रम र योजना सञ्चालन हुने जानकारी दिए।

मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले पर्यटक आगमनको पहिलो पूर्वाधार सडक भएको उल्लेख गर्दै एसियाली राजमार्गको सञ्जालले जोडिएको कोसी प्रदेशमा पर्यटक भित्र्याउन तुलनात्मक रूपमा सहज हुने धारणा राखे । उनले पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको हुँदा आगामी दिनमा स्थलमार्गबाट नेपालमा धेरैभन्दा धैरै पर्यटक भित्र्याउन सकिने सम्भावना व्यक्त गर ।

आशिष ट्राभल्स काँकडभिट्टाका सञ्चालक एवं पर्यटन व्यवसायी नेत्र कार्कीले पर्यटन वर्षको घोषणाले वर्षौँदेखि यो व्यवसायमा लागेका निजी क्षेत्रमा उत्साहको लहर आएको बताउँदै प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रमलाई केही स्थान वा क्षेत्रमा मात्र सीमित बनाउन नहुने सुझाव व्यक्त गरे।

“विराटनगर, धरान र बेतनामा मात्र कार्यक्रम गरेर पर्यटन वर्ष सफल हुँदैन । ट्राभल एजेन्सी सञ्चालनका रूपमा ३० वर्षदेखि अनुभवका आधारमा प्रदेशका पर्यटकीय सबै क्षेत्रमा क्रमशः प्रवर्द्धनात्मक कार्यक्रम गर्दै जानुपर्छ”, उनले भने “कोसी प्रदेशमा सबैभन्दा बढी पर्यटक पूर्वीनाका काँकडभिट्टाबाट प्रवेश गर्छन् । पर्यटन वर्ष मनाइरहँदा पूर्वीनाकालाई विशेष महत्त्व दिन जरुरी छ ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्