धरान (सुनसरी)धरान उपमहानगरपालिका–८ बाट आउनुभएका विनय प्रधान र निर्मला खड्का प्रधानको दम्पतीलाई गत सोमबार बिहानै पिण्डेश्वर मन्दिरमा दर्शन गर्दै गर्दा भेटिए। उनीहरुको १९ वर्षको वैवाहिक वर्षगाठ भएकाले पिण्डेश्वर मन्दिरमा पूजा गर्न आाएका थिए ।
उनीहरुले एकैस्वरमा भने, ‘१८ वर्ष पहिले यही मन्दिरमा हाम्रो विवाह भएकाले आज पूजा गर्नका लागि पनि यहीँ आएका हौँ र आज वैवाहिक वर्षगाठका अवसरमा पनि भगवान्को आशीर्वाद लिन आएका छौँ ।’ अरु समयमा बूढासुब्बा, दन्तकालीलगायतका मन्दिरमा दर्शन गर्न जाने यो दम्पती वैवाहिक वर्षगाठका अवसरमा भने हरेक वर्ष पिण्डेश्वर बाबाधाममै आउने गर्दछ ।
धरान उपमहानगरपालिका–८ की जयन्तीकुमारी सिंह पनि १८ महिनाको छोरी काखमा लिएर परिवारसहित पिण्डेश्वर मन्दिरको दर्शन गर्न मन्दिर आइपुगेकी थिइन् । उनलाई पनि पिण्डेश्वरप्रति अगाध आस्था छ । सिंहले भनिन्, “पिण्डेश्वर बाबाधामसँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वासले गर्दा प्रायः हरेक सोमबार र शनिबार पूजा गर्न आउँछौँ ।”
धरानको विजयपुरस्थित पिण्डेश्वर मन्दिर धार्मिक पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङ, काठमाडाँै, भक्तपुरलगायतका ठाउँबाट समेत ठूलो सङ्ख्यामा पिण्डेश्वर दर्शन गर्न आउने तीर्थालुको सङ्ख््या बढ्दै गएको छ । पिण्डेश्वर मन्दिर सबैका साझा देउता भएकाले सबै जाति, धर्मावलम्बीका मानिस पूजा गर्न आउने गर्दछन् ।
भक्तपुरबाट दर्शनका लागि पिण्डेश्वर मन्दिर आएकी सुनिता श्रेष्ठ आफू धेरैपटक पिण्डेश्वर मन्दिर आइसकेको बताउछिन् । एक महिना अगाडि मात्र लागेको बाह्रवर्षे महाकुम्भ मेलामा पनि आफू आएको सुनाउछिन् । उनी भन्छिन्, ‘प्रायः हामी सपरिवार नै वर्षैपिच्छे पुजा गर्न पिण्डेश्वर बुढासुब्बा आउने गरेका छौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन् ।’
विगत २० वर्षदेखि मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आएकी इन्दिरा खड्का प्रत्येक शनिबार र सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या धेरै हुने गरेको बताउछिन् । उनले रुद्राक्ष भोजपुरको दिङलाबाट समेत खरिद गरेर आफैले डालीहरु बनाएर बिक्री गर्दै आएकी छन् । पिण्डेश्वर मन्दिर क्षेत्रमा २० देखि ३० को हाराहारीमा फूल मालाका पसल गर्ने व्यवसायी छन् भने आधा दर्जन जति होटल सञ्चालनमा छन् ।
पिण्डेश्वर बाबाधाम समितिका इकाइ समिति तथा होटल व्यवसायी रन्जिता कट्वालका अनुसार पिण्डेश्वर मन्दिरमा दर्शन गर्न दैनिक सरदर हजारदेखि १५ सयको संख्यामा भक्तजन आउने गर्दछन् । कतिपय भक्तजन पितृहरुको स्मरणमा श्राद्धका लागि आउने गर्छन् । यहाँ बिहानदेखि बेलुकासम्म नै पूजा हुने गरेकाले बिहानदेखि बेलुकासम्म नै मान्छेहरुको चहलपहल हुने गर्दछ ।
धरान उपमहानगरपालिका–१३ स्थित विजयपुरमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर मन्दिरको पूर्ण नाम ‘अमृतपिण्ड पिण्डेश्वर महादेव’ भनेर चिनिन्छ । पौराणिक कथाअनुसार देवता र दानव मिली समुन्द्र मन्थन गर्दा निस्किएको विष र अमृतमध्ये अमृतलाई छानी फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानका रुपमा लिइएको छ ।
अमृतपिण्ड पिण्डेश्वरका रुपमा भगवान शङ्कर, अमृतपिण्ड शिवलिङ्गको पूजा गर्ने गरिन्छ । समुद्र मन्थन गर्दा निक्लिएको कालकुट विष उत्पन्न भएको र उक्त विषलाई शिवले आफ्नो कण्ठमा राखी अन्त्यमा रत्नकारूपमा उत्पन्न अमृतलाई भगवान विष्णुले देवताहरूलाई मात्र पिउन दिएको थियो भन्ने भनाइ छ । प्रचलित जनविश्वासअनुसार तिनै छोक्राको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको भन्ने मान्यता रहेको छ ।
पिण्डेश्वर विजयपुरको दक्षिणमा पर्छ, जहाँबाट सुन्दर धरान बजार, चारकोशे जङ्गल र इटहरी बजारसमेत मज्जाले अवलोकन गर्न सकिन्छ । मन्दिर अगाडि पश्चिमतर्फ ऐतिहासिक रुप बोकेको पोखरीसँगै इनार पनि छ । पोखरीको बीचमा धातुबाट बनेको भगवान् सरस्वतीको ठूलो प्रतिमा पनि स्थापित छ ।
पिण्डेश्वर मन्दिरको वरपर बाक्लो जङ्गल छ भने छेउछेउमा चौतारासँगै वरपीपलको रुखहरु पनि रहेका छन् । वनले घेरिएको एकान्त विजयपुर डाँडाको पुच्छरमा अवस्थित छ । बाहिरबाट झट्ट हेर्दा मन्दिरको स्वरूप चिटिक्क सानो देखिन्छ तर भित्र प्रवेश गरेर हेर्दा ठूलो फराकिलो फिँजारिएको सफा मन्दिर रहेको छ । त्यसभित्र सानाठूला गरी १० वटाभन्दा बढी मन्दिर छन् । पिण्डेश्वर शिवलिङ्गको ठिक अगाडि ढुङ्गाबाट निर्मित ठूलो बसाहा रहेको छ । मुख्य द्वारदेखि पूजा गर्दै जाँदा पिण्डेश्वर शिवलिङ्ग स्थलमा पुग्न सकिन्छ ।
विशेषगरी चाडपर्वमा मन्दिर ठूलो भीड हुने गर्छ पिण्डेश्वर मन्दिरमा भक्तजनहरु साउन महिनाको पहिलो सोमबारपछि, अष्टमी, कात्तिकपूर्णिमा, माघेसङ्क्रान्ति, महाशिवरात्रि तीजलगायतका पर्वमा महिलाको ठूलो सङ्ख्यामा उपस्थित हुने गर्छ । साउन महिनामा यस ठाउँमा लाग्ने ठूलो बोलबम मेलामा देश विदेशका भत्तजन पहेंलो गेरु वस्त्र धारण गरी आउने गर्दछन् । खाली खुट्टा हिँड्दै ‘बोलबम’ भन्दै चतरा पुगेर त्यहाँबाट सप्तकोशी नदीबाट जल लिएर पिण्डेश्वर मन्दिरमा चढाउने गर्छन् ।
यहाँ शिवलाई जल चढाँउदा पाप पखालिने मनोकामना सिद्ध हुन्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । प्रत्येक छ÷छ वर्षमा चतरा धाममा पिण्डेश्वर अर्धकुम्भ मेला र १२÷१२ वर्षमा करिब एक महिना लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समयमा यहाँ पूजापाठ अनि जल चढाउनेको सङ्ख्या धेरै हुने गरेको पिण्डेश्वर बाबाधामका पुजारीहरुको भनाइ छ ।
यस ठाउँमा बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहेकाले भक्तजनलाई बासस्थानको व्यवस्था अलिक गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । पिण्डेश्वर मन्दिरमा दर्शनार्थी बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने पिण्डेश्वर समितिका इकाइ सदस्य रन्जिता कट्वाल बताउछिन्।