समय : ०१:०२ am | बिहिबार , माघ २१ गते २०८२

नेप्सेमा करिब ४० अंकको वृद्धि

अर्थ विशेष | मंसिर ७ गते २०८२

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५५ प्रतिशत अर्थात ३९.९२ अंकले बढेर २ हजार ६००.२२ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७३ प्रतिशतले बढेर ४४८.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको १ करोड ३३ लाख ८१ हजार ९२९ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठकले राजनीतिक र आगामी चुनावको विषयले विगत केही समयदेखि बजार घट्दै आईरहेकोमा अहिले अवस्थामा सुधार आएकाले आज बजारमा ठूलो अंकको वृद्धि देखिएको बताए । यसका कारण लगानीकर्ताको मनोबल बढेको उनको धारणा छ । ‘अहिले सस्तो बयाजदरमा लगानी गर्ने अवसर छ । राजनीतिक माहौलमा सुधार आउदै गर्यो भने बजारपनि माथि नै लाग्ने हो । बैंकहरुको मुद्दती निक्षेपमा भन्दा सेयरबजारमा लगानी गर्नु उपयुक्त देखिएको छ,’ उनले भने ।

यस्तै अर्का बजार जानकार विष्णु भुसालले पनि देशमा निर्वाचनको वातावरण बन्दै गएकाले लगानीकर्ताको मनोबल बढेको बताए । माहौल राम्रो बनेकाले मौद्रिक नीति पनि सकारात्मक नै आउनेमा उनी ढुक्क देखिए । उनले एकपटक बजारमा राम्रो अंकको उछाल आउने पनि विश्वास व्यक्त गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज जीवन बीमा समूह सर्वाधिक अर्थात २.५५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.३६ प्रतिशत, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल १.५७, हाईड्रो १.३३, लगानी २.०३, उत्पादन तथा प्रशोधन १.५६, लघुवित्त १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ र व्यापार समूह ०.२५ प्रतिशतले बढ्यो ।

आज घट्ने एउटा मात्रै समूहको रुपमा म्युचुअल फण्ड समूह रह्यो । यो समूह आज ०.२७ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्